मानिस बन्न नसकेकी रुपा सुनार र मेरा विचार- जातिय भेदभाव बिरूद्धको एक आवाज

मानिस बन्न नसकेकी रुपा सुनार र मेरा विचार- जातिय भेदभाव बिरूद्धको एक आवाज

मानिस बन्न नसकेकी रुपा सुनार र मेरा विचार



           संगम श्रेष्ठ ललितपुरः  वर्तमान समयमा रुपा सुनार माथि भएको जातिय भेदभावको कारणले सामाजिक संलाज तातेको छ । उनी काठो खोज्न जाने क्रममा उनी माथि जातीय भेदभाव भएको खबर बाहिर आएको छ । पहिला कोठा भाडामा दिन्छु भनेर प्रक्रिया दिएका घरवेटीले पछि दलित भएकै कारण कोठा नदिने प्रतिक्रिया जनाएका थिए ।

            रुपा सुनार पेशागत दृष्टिकोणले पत्रकार हुन् । उनी पत्रकार हुन सकिन तर मानिस हुन भने सकिनन् । लमजुङमा जन्मिएका रुपा सुनार उनले जन्मै देखी नै जातिय भेदभाव सहदै आएका छन् । कक्षा २ मा पढ्दा कमल नकाटिदिए पछि उनको जीवनमा सुरु भएको जातिय भेदभाव अहिले संचारकर्मी हुदाँ पनि यथावत रहेको छ । सानै उमेर देखि नै जातिय भेदभावमा परेका उनी समाजले उनलाई मानिसको रुपमा कहिल्यै स्वीकार गरेनन् । पत्रकारितामा आउँदा पनि जात सम्बन्धी टिकाटिप्पनी सहदै आएको थिए । पत्रकार हुन सक्ने रुपा तर मानिस भने हुन सकेनन् । उनलाई कहिल्यै समाजले मानिसको रुपमा हेरेनन् तर कामीको रुपमा हेरे । संविधानले जातिय भेदभाव सामाजिक अपराध हो भनेर भनेता पनि समाजमा यसलाई संस्कृतिको रुपमा अंगाल्दै आएको छ ।

            वास्तवमा यो कुनै संस्कृति होइन तर यो त संस्कृतिको नाममा भएको कुसंस्कृति हो । यो यस्तो संस्कृति हो जसले मानिसलाई मानिसको रुपमा होइन तर दलितको रुपमा हेर्छन् । म कुनै पनि पुर्वाग्रह नराखि यो लेख लेख्दैछु । म हिन्दु धर्मको बिरोधी होइन तर हिन्दु धर्म र समाज भित्र रहेको कुसंस्कृति हट्नु पर्छ भन्ने एक आम नागरिक मात्र हुँ । म कसैलाई पुर्वाग्रह नराखि भनिरहेको छु, जातको आधारमा गरिने हिन्दु धर्म र समाज भित्र भएको यो कुसंस्कृति हट्नु नै पर्छ । जब म यो जातिय भेदभाव विरुद्धमा बोल्छु, मलाई संस्कृति भाडुवा, विदेशीको डलरे, विदेशी धर्मको प्रचारक, विदेशीको झोले भन्छन् । यो भन्दा अझै निज प्रकारको गाली गर्छन् तर म कुसंस्कृतिको विरुद्धमा बोल्न छोड्ने छैन ।

            रुपा सुनार मानिस हुन सकिनन् । हाम्रा समाजमा उनी एक पात्र मात्र हुन् । समाजमा उनी जस्तै कयौँ दलितहरू अझै पनि मानिस हुन सकेका छैन । उनीहरू ज्ञानमा सक्षम छन्, शिक्षामा अब्बल छन्, सीपमा पोख्त छन् तर मानिस हुन चाहिँ सकेका छैन । किन ? हामी यस्तो समाजमा बस्छौँ, जब ज्ञान, सीप, शिक्षा र बौद्धिकताले जित्न सक्दैनौँ तब जातको कुरा ल्याउँछौँ । त फलानो जातको त हो नी । दलितहरू हिन्दु समाजमा कहिल्यै मानिस हुन सकेनन् । यो सत्य कुरा हो यो भन्दै गर्दै गर्दा कति हिन्दुवादीहरूको मन पोल्न सक्छ । म सँग रीस पनि गर्न सक्छ तर यो सत्य हो । संसारमा विभिन्न प्रकारको भेदभाव रहेको छ । संसारको विकास भएको देश अमेरिकामा पनि रङ्गभेद छ तर जति नेपालमा जातिय भेदभाव छ सोही मात्रामा छैन । अमेरिकाले एउटा काला जातिका व्यक्तिलाई राष्ट्रपति बनाउँन सक्छ तर नेपालका बाहुनबादी र हिन्दुवादीहरूले कुनै एक दलितलाई सरकारको उच्च पदमा वा प्रधानमन्त्री वा राष्ट्रपति बनाउँने हिम्मत छ ?

            मानिस हुन नसकेका दलित समुदायलाई राज्यबाट नै कुनै समयमा भेदभाव गरिएको थियो । नेपालको संविधान बनेसँगै दलितहरूका अनुहारमा केही खुशी देखिएको थियो । संविधानले जातिय भेदभावलाई अपराध मानेता पनि हिन्दु समाजले त स्वीकार नै गरेनन् । संविधानले मानिस हो भनेर भनेता पनि समाजले कहिल्यै मानिस सोचेनन् । चाहे त्यो नवराज वि.क हुन् वा अजिव मिजार, दलित भएका कारणले कोठमा नपाएका र पाएका कोठाबाट निकालिएका दीपा वि.क हुन् वा दलित भएका कारणले नै कोठा नपाएका रुपा सुनार यी व्यक्तिहरूलाई समाजले कहिल्यै मानिसको रुपमा हेरेनन् ।  मलाई थाहा छैन दलितहरू मानिस हुन् के गर्नु पर्छ तर यो चाहिँ पक्का हो कि यो हिन्दुवादी समाज सजिलै परिवर्तन हुनेवाला छैन । यदि संविधानमा लेखेर नै जातिय भेदभाव अन्त्य हुने भए आज भन्दा ५० बर्ष अगाडी नै अन्त्य हुन्थ्यो होला । २०२१ सालमा नै सार्वजनिक क्षेत्रमा जातिय भेदभाव गर्न पाइदैन भनेर कानुन बनाइएको भएता पनि ५० बर्ष पछि पनि जातिय भेदभाव उही स्थानमा रहेको छ ।

            मानिसहरु सम्वृद्धिका कुरामा अगाडी बढि सके । कुनै समय नेपाल भन्दा गरिब देश कोरिया आज काहाँ पुगि सक्यो तर हामी चाहिँ यहिँ वर्णव्यवस्थामा अल्झिएर, जातिय भेदभाव गरेर, म उच्च जात, त निज जात भनेर अहमताको भावना पालेर बसिरहेका छौँ । भाग्यवाद र जातिवादलाई मुख्य केन्द्र बनाइ समाज परिवर्तन खत्रो भाषणको विभुल फुकिरहेका छौँ । हामी खोक्रो भइ सक्यो यो भाग्यवाद र जातिवादको कुरा सुन्दा सुन्दै । दलितलाई कहिल्यै मानिस नसोच्ने समाज देखे अचम्म लाग्छ मलाई । के को अहमता छ उनीहरू खै थाहा छैन तर जातको आधारमा विभेद गर्ने यस्तो सोचलाई धर्मको आड लिएको देख्दा अचम्म लाग्छ ।

            मानिस ठुलो दिलले हुन्छ जातले हुदैन भन्ने भनाई पढेर मात्र हुदैन हजुर गरेर पनि देखाउनु पर्छ । विना प्रयोगको ज्ञान मरुतुल्य छ । जातिय भेदभाव अन्त्य गरौँ । आफ्नो जात, धर्म र संस्कृतिमा घमण्ड होइन तर मानवता हुनुमा सरलता देखाऔँ । धर्म र संस्कृति आफुनो ठाउँमा छ तर संकृतिमा भएको कुरितीहरूलाई पनि स्वीकार गर्नुपर्छ भन्ने छैन । धर्म, जात । संस्कृति भन्दा मानवता ठुलो हो । एक अर्कामा मानवता देखाउँ धर्म र संस्कृतिको संरक्षण आफै हुन्छ ।

दलित पनि मानिस हुन् । उनीहरू कुनै अन्य ग्रहबाट आएका होइनन् । यो समाजमा जति हामीलाई स्वतन्त्रता छ त्यति नै उनीहरूलाई पनि छ । हिन्दुवादी र वहुनवादी धारणालाई त्यागी समानताको बाटोमा जाऔँ । जातिय भेदभाव बिरुद्धमा बोँल्न थालौँ । नचाहिने तर्कवाजि गर्न भन्दा, स्वीकार गरौँ कि हो जातिय भेदभाव छ तर यसलाई हामी मिलेर हटाऔँ भन्ने धारणा बोकौँ । तपाईको परिवारमा भेदभाव छ भने पहिला आफ्नै परिवारबाट सुरु गरौँ । अनि समाज । जातिय भेदभावको बिरुद्धमा बोल्दा तपाई जात र धर्मको अस्तित्व मेटिदैन हजुर एक पटक आजाव उठाएर त हेर्नुस् ।

            म एक आम नागरिक हुँ, म नेपाली माटो र संस्कृतिमा हुर्कएको हुँ । म गर्भ साथ भन्न सक्छु कि मेरो परिवारमा कुनै जातिय भेदभाव छैन हामी एउटै भान्छामा बसेर खान सक्छौँ । हामी मानिसलाई जातको आधारमा हेदैनौँ तर मानसिलाई हामी केवल मानिस मात्र देख्छौँ तर जात देख्दैनौँ । मेरा धेरै दलित साथीहरु हुनुहुन्छ, म उहाँहरु सँग खान्छु, उहाँसँगै हिड्छु , उहाँहरूको घरमा जान्छु कति रातहरू त उहाँहरुको घरमा सुतेको छु । उहाँहरु पनि मेरो घरमा आउँनु हुन्छ, बस्नुहुन्छ एउछै भान्छामा खान्छौँ, मेरा कति साथीहरू मेरो घरमा रात बिताउनु भएको छ । किनकि मैले केवल मानिस देखे जात होइन । मेरा आमा, बुबा र भाईले कहिल्यै पनि जातिय कुरा गरेनौँ र हामीले मानिसलाई जातको  आधारले होइन मानवताको आधारले हेछौँ । जब हामी गाँउमा बस्थियौँ तब मेरो आमाको दलित साथीहरू हुनुहुन्थ्यो उहाँहरू हामीहरुको घरमा आउँनु हुन्थ्यो एउटै भान्छामा बस्थियौँ, खान्थ्यौ, मेरो आमा पनि उहाँहरुको घरमा जानुहुन्थ्यो । खै हामीलाई त कहिल्यै दलित भन्ने जातिय भेदभाव मनमा आएन त । हामीले केवल मानिस सोच्यौँ । यसको तुलनामा अझै पनि मेरो गाउँमा जातिय भेदभाव छ । अझै पनि धेरै घरहरुमा दलितलाई प्रवेश निषेध छ तर हामीले कहिल्यै गरेनौँ किनकि हामीले जातलाई कहिल्यै हेरेनौँ । जातको आधारमा गरिने भेदभावको बिरुद्धमा म र मेरो परिवार सदा खडा हुन्छौँ । हामी सामान्य परिवारको मानिस हौँ । यदि हामीहरुले जस्तै आफ्नै परिवार सुरु गर्छ भने केही बर्षहरुमा नै जातिय भेदभाव एकादेशका कथा बन्छ तर यदि हामी यसलाई अझै संरक्षण गर् भने अबका १०० पुरा सम्म पनि यो कुसंस्कृति बसिरहन्छ ।

            यसैले दलित पनि मानिस हुन् हामी जस्तै । उनीहरु कुनै अर्कै ग्रहबाट आएका होइन । भेदभाव अन्त्य गरौँ । नरकरात्म सोचलाई हटाई अगाडी बढौँ मानिसलाई जातको आधारमा होइन तर मानिसको नजरले हरौँ ।

About Sangam Shrestha

संगम श्रेष्ठको जन्म ललितपुरको कोन्ज्योसोम गाउँपालिका ५ मा भएको हो । उनले आफ्नो आधारभुत शिक्षा स्थानीय गाउँमा नै गरे भने १२ चाहिँ जनभावना क्याम्पस, चापागाउँमा गरे साथै उनी हाल सोही क्याम्पसमा BASW अध्ययन गर्दैछन् । उनले ईश्वरशास्त्र अन्तरगत M.Div. मा अध्ययन पनि गर्दैछन् । पेशागत दृष्टिकोणले उनी पत्रकार साथै लेखक हुन् भने धर्मको दृष्टिकोणले उनी ईसाइ हुन् । हाल उनी गोदावरी नगरपालिका-८ मा आफ्नो माता र पितासँगै बस्दै आइरहेका छन् ।

0 Comments: