नेपालमा जातीय भेदभावको थालनी कसरी र कहिले?

 

नेपालमा जातीय भेदभावको थालनी कसरी र कहिले?


Sangam Shrestha,4/8/2021

       नेपालको जातपातको व्यवस्था भारतीय उपमहाद्वीपमा विकसित जातपातको व्यवस्था हो । उत्तर भारतमा एघारौँ शताब्दीमा भएको मुस्लिम आक्रमणपछि ठूलो सङ्ख्यामा भएको बसाई–सराईबाट नेपालमा हिन्दू धर्मले प्रवेश गरेको हो ।”[i]  लेखक तारा लामगादे नेपालमा जातपातको बारेमा लेख्छन् कि “आर्यहरुको प्रवेशले मात्रै जातिवादी प्रथाको आरम्भ भएको हो । आर्यमतको विशेषता भनेको पुरोहितवाद, ब्राम्हणवाद, गुरुवाद, सति प्रथा, क्रुर धर्म नीति हो । करिब ७ सय बर्ष पहिले नेपाल (उपत्यका) प्रवेश गरेका बाहुनहरुले राजा जयस्थिति मल्लमार्फत १४ औँ शताब्दी (सन् १३८२–१३९५) छुवाछुत र जातप्रथा कायम गराउन वर्णवादी व्यवस्था भित्र्याएका हुन् ।”[ii]  यसरी हेर्दा जातीवादको सुरु गर्ने चाहिँ हिन्दू आर्यहरु नै भएको इतिहासका पानाहरुले हामीलाई जानकारी दिदछ । जब नेपालमा हिन्दू धर्मको फैलावट भयो त्यही अनुपातमा जातीय भेदभाव तिब्र रुपमा बढेको पाइन्छ । यो कुनै मनगढन्ते कुरा होइन किनकि यो इतिहासको वास्तविक दस्ताबेज हो । यो इतिहासको सत्य कालो चित्र हो जसले मानिसलाई मानिस नसोचेर जातको आधारमा विभेद गरिन्छ । संसारमा विभिन्न प्रकारको विभेद छन् जस्तैः रङ्गका आधारमा काला र गोला बीचमा विभेद, आर्थिकको आधारमा धनी र गरिब बीच बिभेद भएको पाउँछौँ तर जातको आधारमा चाहिँ नेपाल र भारतमा मात्र त्यही पनि हिन्दू धर्म भित्र मात्र छ ।  अब यसलाई हिन्दू धर्मको उपज भन्न मिल्छ या मिल्दैन भन्ने कुरा भनि रहन पदैन होला । यस्तै जातीय प्रथालाई अझै बढाउनको लागि गोरखाका राजा पृथ्वी नारायण शाहले गरेको पाइन्छ । “पृथ्वी नारायण शाहले असली हिन्दुस्तान बनाउने रणनीतिसहित ४ वर्ण, ३६ जातमा विभाजन गरे ।”[iii]  यहि कुप्रथालाई निरन्तरता दिने काम प्रधानमन्त्री जंगबहादुर राणाले गरेको पाइन्छ । “...उनले वि.सं. १९१० मा जारी गरी वर्णवादी हिन्दू व्यवस्थालाई संस्थागत गरे ।” उनले १९१० मा मुलुकी ऐन जारी गरेर नेपालीहरुलाई चार वर्णको आधारमा विभाजन गरे । ती जात व्यवस्थाको विभाजन निम्नि छन्[iv]

       १.तागाधारी वा द्विजवर्णः उपाध्याय बाहुन, पूर्वीया, कुमाई, राजपुत, जैसी, क्षेत्री ।

       २.मतवालीः नमासिने र मासिने

       ३.पानी नचल्नेः छोइछिटो हाल्नु नपर्ने

       ४.पानी नचल्नेः छोइछिटो हाल्नुपर्ने ।

       काठमाण्डौँमा जात प्रथाको सुरुवात जयस्थिति मल्लको समय देखि सुरु भएको पाउँछौँ भने नेपालको सन्दर्भमा भने हिन्दू धर्मको आडमा निमार्ण भएको वि.सं. १९१० को मुलुकी ऐनसँगै भएको पाइन्छ । “ऋग्वेदलाई आधार मानेर यसको सुरुवातको व्याख्या गर्नेहरुले समुदायको सुरुवात गर्नेलाई ब्रम्हाको शिरबाट ब्राम्हण, हातबाट क्षेत्री, तिघ्राबाट वैश्य र खुट्टाबाट शुद्रको सुरुवात आदिमकालमा नै भएको हो भन्ने गरिन्छ । शरीर बाट कुन भागबाट सृष्टि भएको भन्ने आधारमा वर्ण व्यवस्थाको सुरुवात भएको मानिएको छ ।”[v]  यहि आधारमा शिर बाट जन्मको ब्राम्हणले विद्धता प्राप्त गर्ने, हातबाट सृष्टि भएकोले युद्ध सम्बन्धी कार्य गर्ने, र वैश्य र शुद्रले चाहिँ यी दुई उच्च जातका मानिसहरुलाई सेवा गर्ने वा उनीहरुलाई आवश्यक पर्ने कुराहरु बनाई दिने गरी चार वर्गमा विभाजन गरेको छ ।  यसैले यो विभेद आज सम्म पनि हामीहरुको समाजमा कालो दागको रुपमा रहि आएको छ । “जातीय भेदभाव तथा छुवाछुतका अभ्यासहरूमा दलित र अन्य समुदायहरू एवं दलितहरूकै बीचमा रहेको बाराबारको स्थिति पर्दछ । हिन्दु संस्कृतिमा पाइने परम्परागत विश्वासअनुसार दलितहरू अरूका निम्ति “अशुद्ध” मानिन्छन् र उनीहरूलाई “अछुत” भनी कलङ्कित गरिन्छ । वास्तवमा उन्नाइसौं शताब्दीमा छुवाछुतलाई संहीताकरण गरिएको थियो । यसले नेपाली समाजलाई तहगत प्रणालीमा लग्यो र त्यसको सबैभन्दा तल दलितहरू परे । ” [vi]



                                              Please  Subscribe This Channel



[i] Tara Lamagade, KO hun Dalit? (Dharan: Mahapratiwad Rashtiya Saptahik, 2021), pg.3.

[ii] Tara Lamagade, KO hun Dalit? (Dharan: Mahapratiwad Rashtiya Saptahik, 2021), pg.4.

[iii] Tara Lamagade, KO hun Dalit? (Dharan: Mahapratiwad Rashtiya Saptahik, 2021), pg.6.

[iv] Tara Lamagade, KO hun Dalit? (Dharan: Mahapratiwad Rashtiya Saptahik, 2021), pg.6.

[v] Sarwangeen mission (Lalitpur: Maika Nepal, 2019).pg 174.

[vi] Rastiya Dalit Aayog, Accessed Date March 5, 2021, Publice Date 2067, https://nepal.ohchr.org/en/resources/publications/NDC_OHCHR_Obser_Untocblity_NEP.pdf.

About Sangam Shrestha

संगम श्रेष्ठको जन्म ललितपुरको कोन्ज्योसोम गाउँपालिका ५ मा भएको हो । उनले आफ्नो आधारभुत शिक्षा स्थानीय गाउँमा नै गरे भने १२ चाहिँ जनभावना क्याम्पस, चापागाउँमा गरे साथै उनी हाल सोही क्याम्पसमा BASW अध्ययन गर्दैछन् । उनले ईश्वरशास्त्र अन्तरगत M.Div. मा अध्ययन पनि गर्दैछन् । पेशागत दृष्टिकोणले उनी पत्रकार साथै लेखक हुन् भने धर्मको दृष्टिकोणले उनी ईसाइ हुन् । हाल उनी गोदावरी नगरपालिका-८ मा आफ्नो माता र पितासँगै बस्दै आइरहेका छन् ।

1 Comments: